News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— सुन्दा अनौठो लाग्ला, तर संयुक्त राज्य अमेरिकाको एअर फोर्स (यूएसएएफ)मा कार्यरत विमान चालक सेवाबाट पलायन हुन थालेपछि सरकार समस्यामा परेको छ ।

आफ्ना विमान चालकलाई सेवा मै राख्न अमेरिकाले नयाँ आकर्षक कार्यक्रम ल्याएको छ । जसमा भत्ता स्वरुप वार्षिक ५० हजार अमेरिकी डलर दिने व्यवस्था छ । एअर फोर्स टाइम्सकाअनुसार सो विकल्प उनीहरूको लागि हो, जसले समयअगावै आफ्नो १० वर्षको सम्झौता चाँडै नवीकरण गर्नेछन् । 

रुस र चीनसँग बढ्दो सैन्य तनाव र अन्य धेरै जेलिएका आन्तरिक कारणले अमेरिकी सैन्य विमान चालक विकल्प खोज्न बाध्य छन् । यद्यपि, आकर्षक वैकल्पिक पेशाको लागि उनीहरु अमेरिकी सरकार वा चीन जस्ता प्रतिद्वन्द्वी राष्ट्रहरूसँग सम्झौता गर्न सक्छन्, तर सैन्य भूमिका भने उही रहनेछ । 

Prabhu Bank

गत वर्षदेखि, सेवानिवृत्त अमेरिकी, बेलायती र जर्मन लडाकु पाइलटहरूले चिनियाँ वायुसेना र नौसेनासँग काम गरिरहेका छन् । चीनमा प्रशिक्षण कार्यक्रमहरू बढाउनको लागि पूर्व लडाकुले आफ्नो विशेषज्ञता आकर्षक मूल्यमा बेचिरहेको युरेसियाटाइम्सडटकमले जनाएको छ । आफ्ना पूर्व लडाकुहरूले दक्षता बेचिरहेको खुलासा पछि अमेरिकाले नयाँ रणनीति ल्याएको हो । 

पैसाअनुसारको सेवा
सैन्य विमान चालकको संख्या घटेपछि यूएसएएफले प्रारम्भिक १० वर्षको सम्झौताको आठौँ वा नवौँ वर्षसम्ममा पुनः सम्झौता गर्न सकिने प्रावधान राखेको छ ।

प्रारम्भिक सेवा सम्झौता सन् २०२३ मा समाप्त हुने ड्रोन पाइलटहरू, लडाइँ प्रणाली अपरेटरहरू र हवाई युद्ध व्यवस्थापकहरूमा पनि लागु हुने समाचारमा उल्लेख छ । यसका लागि पाइलटहरूले अन्डरग्राजुयट ट्रेनिङपछि १० वर्ष सेवा गरेको हुनुपर्छ भने हवाई युद्ध व्यवस्थापकहरू तथा लडाइँ प्रणाली अधिकारीहरूसँग प्रारम्भिक छ वर्षको सम्झौता भए पनि पुग्छ । यस वर्षको मार्चसम्म अमेरिकामा २१ हजार विमान चालकहरूको आवश्यकतामा एक हजार ९०७ विमानचालक कम रहेको एअरफोर्स टाइम्सले जनाएको छ । 

fighter air1686478743.jpg

सेवानिवृत्त पश्चिमी पाइलटहरू चीनको लागि काम गर्दै 
जर्मन प्रकाशन डेरस्पिगलद्धारा भर्खरै प्रकाशित रिपोर्टअनुसार जर्मन वायुसेनाका पूर्व अधिकारीहरूले सेशेल्सका कम्पनीहरूमार्फत वर्षौँदेखि चिनियाँ पाइलटहरूलाई तालिम दिँदै आइरहेको खुलासा भएको छ । सो समाचारपछि जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले पछि विस्तृत अनुसन्धान गर्ने वाचा गरेका छन् । 

रिपोर्टमा पूर्व इयु लडाकु टाइफुन पाइलट अलेक्ज्याण्डरएचले चीनलाई ताइवान आक्रमणको रणनीतिहरू डिजाइन गर्न र युरोपमा तैनाथ गरिएको संवेदनशील नेटोको रणनीतिहरू पनि खुलाइएको जर्मन सुरक्षा अधिकारीहरूले निष्कर्ष निकालेका छन् । सो पाइलटलाई चिनियाँ एजेन्सीहरूले कथित रूपमा शिकार गरेको बताइएको थियो ।

यति मात्र होइन, गत वर्ष एक पूर्व अमेरिकी समुद्री पाइलट ड्यानियल दुग्गनलाई चिनियाँ सैन्य पाइलटहरूलाई विमान अवतरण गर्न प्रशिक्षण दिएको र अमेरिकी हतियार नियन्त्रण कानुनको उल्लंघन गरेको आरोपमा अष्ट्रेलियामा गिरफ्तार गरिएको थियो । सो सीप महत्वपूर्ण क्षमता रहेको बताइएको छ, जुन चीनको जनमुक्ति सेना (पीएलए) ले सम्भवतः ताइवान या अमेरिका र यसको क्षेत्रीय सहयोगीहरू विरुद्ध समुद्रमा उपयोग गर्न सक्नेछ । अमेरिकी अदालतले गत वर्षको अन्त्यमा खुलासा गरेको अभियोगमा ‘दुग्गानले पिपुल्स रिपब्लिक अफ चाइना (पीआरसी) पाइलटहरूलाई’ दक्षिण अफ्रिकी फ्लाइट स्कुल मार्फत सन् २०१० र २०१२ को बीचमा तीन पटक सैन्य प्रशिक्षण प्रदान गरेको उल्लेख छ । 

यसमा नाम नखुलाइएको मतियारहरू जसमा चिनियाँ सेनाका लागि सैन्य गुप्तचर रहेका चिनियाँ नागरिक, दुई दक्षिण अफ्रिकी र बेलायती अधिकारीहरू तथा एक दक्षिण अफ्रिकी परीक्षण पाइलट संलग्न थिए । अक्टोबर २०२२ मा अष्ट्रेलियाली प्रहरीले अमेरिकी सरकारको अनुरोधमा ओरेन्जको सानो शहरमा डुग्गनलाई अस्थायी रूपमा हिरासतमा राखेको थियो । हाल, उनी षड्यन्त्र, हतियारको तस्करी र मनी लान्ड्रिङको आरोपमा अमेरिकामा सुपुर्दगीको लागि लिथगो सुधार केन्द्रमा हिरासतमा छन् । 

यसैबीच, अक्टोबर २०२२ मा ३० भन्दा बढी पूर्व बेलायती पाइलटहरूले चिनियाँ विमान चालकहरूलाई तालिम दिएको सूचना सार्वजनिक भएको थियो ।

त्यसपछि, चिनियाँ सेनाको लागि काम नगर्न बेलायतले पूर्व सैन्य पाइलटहरूलाई चेतावनीसमेत दिएको थियो । ‘यो एक आकर्षक प्याकेज हो जुन सैनिकहरूलाई प्रस्ताव गरिएको छ,’ एक पश्चिमी अधिकारीले चिनियाँ सेनाको लागि काम गर्ने पूर्व पश्चिमी सैन्य अधिकारीहरुको बारेमा भने, ‘पैसा एक बलियो प्रेरणा हो र केही प्याकेजहरू दुईलाख ३७ हजार ९११ पाउन्डको रहेको छ ।’ 

यस्तै, बेलायती मिडिया रिपोर्टहरूकाअनुसार जर्मनीले हालै लगाएको आरोपमा पूर्व बेलायती पाइलटहरूलाई पश्चिमी विमान र पाइलटहरूले कसरी काम गर्छन् भन्नेबारे थप जान्नको लागि चीनले काममा लगाएको थियो । रिपोर्टकाअनुसार, सो ज्ञान टकरावको घटनामा महत्वपूर्ण हुन सक्छ, जस्तो ताइवान हमलामा । 

अमेरिका र बेलायतपछि फ्रान्सले पनि यस्तै दाबी गरेको छ । एक फ्रान्सेली दैनिक, ले फिगारोकोअनुसार बेइजिङले सक्रिय रूपमा विमान वाहक अवतरणका लागि दक्ष फ्रान्सेली प्रशिक्षकहरू खोजिरहेको आरोप छ । अमेरिकी निजी सेना र ठेकेदारहरू यूएसएएफले आफ्नो सेवाबाट सैनिक पलायन रोक्नको लागि हतियार निर्माण बाहेक, परम्परागत युद्धको नवीकरण भएको युगमा सिपाहीलाई पनि लाभदायक व्यवसाय बनाइदिएको छ । 

अमेरिकी अनुभवीद्वारा सञ्चालित अमेरिकी निजी सैन्य कम्पनीहरूले रुस–युक्रेन युद्ध अघि युक्रेनी सैनिकहरूलाई तालिम दिएका थिए । सो युद्धमा मारिएका सयौँ स्वयंसेवकहरू बाहेक सेवानिवृत्त पाइलटहरूले सो लडाइँ मिसनमा आकर्षक प्याकेज पाए अवश्य भाग लिनेछन् ।

आगामी वर्ष एफ– १६ लडाकु युक्रेनमा हुने युद्धमा सामेल हुने अपेक्षा गरिएको छ । तसर्थ, पर्यवेक्षकहरूले अमेरिका र युरोपेली राष्ट्रहरूबाट सेवानिवृत्त पाइलटहरूले युक्रेनी एफ– १६ लाई महत्वपूर्ण सङ्ख्यामा सञ्चालन गर्न सक्नेछन् । यी पूर्व चालकहरू सिधै कीभद्वारा भाडामा लिन वा रक्षा विभागद्वारा अनुबन्धित गर्न सकिन्छ । 
स्रोतः युरेसियाटाइम्सडटकम

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०७:०८
Weather Update