
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
सशस्त्र युद्धका बालसेना लेनिन विष्ट लगायतले दिएको निवेदन सर्वोच्चले आइतबार दर्ता गरेको हो । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ ।
प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत रिट निवेदकको माग छ । आफूहरूलाई अयोग्य लडाकु भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ । आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बाल सेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकु भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको उनको दाबी छ ।
यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले सङ्क्रमणकालीन न्याय अनुरूप निरुपण हुने भन्दै दरपिठ गरिदिएको थियो । दरपिठ विरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।