News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
संसद् बैठकमा विद्यार्थी : के यो फलदायी छ ? 

काठमाडौं— प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगै विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरू समेत सहभागी हुने गरेका छन् ।

संसदीय विधि र प्रकृया विद्यालय तहबाटै बुझ्न जरुरी रहेको भन्दै २०५५ सालदेखि संसद्मा विद्यार्थीहरूलाई अवलोकनका लागि खुला गरिएको हो । 

student parliament1686472726.jpg

Prabhu Bank

‘संसद्को गतिविधि हेर्नका लागि विद्यार्थीसँगै सर्वसाधारणलाई पनि खुला गरिएको छ,’ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘त्यसका लागि केही आवश्यक प्रकृया भने पुरा गर्नुपर्ने हुन्छ ।’ गिरीले संसद् बैठक अवलोकनबाट विद्यार्थीहरूले संसदीय अभ्यासबारे धेरै कुरा सिक्न यसले सजिलो बनाएको दाबी गरे । 

सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरू संसद् बैठकमा सहभागी हुँदै आएका छन् । यद्यपि कतिपय अवस्थामा संसद् बैठकमा हुने अनेकन विवाद र झैझगडाले विद्यार्थीहरूलाई मानसिक रुपमा भने तनाव हुँदै आएको छ । केही दिन अगाडि मात्रै राष्ट्रिय सभा बैठकमा सहभागी हुन पुगेकी भक्तपुरकी समृद्धि तिमिल्सिनाले बैठक शुरु नहुँदै सूचना टाँस गरेर स्थगित हुँदा नमज्जा लागेको अनुभव सुनाइन् । भक्तपुर सल्लाघारीस्थित मोर्डन इङ्गलिस स्कुलका ७५ जना आफ्ना साथीहरूसँग उनी राष्ट्रिय सभाको बैठक अवलोकनका लागि पुगेकी थिइन् । 

संविधानविद् तथा काठमाडौं युनिभर्सिटी स्कुल अफ ल का पूर्व डिन विपिन अधिकारीले संसद्ले विद्यार्थीहरूका लागि बैठक अवलोकन गर्ने सुविधा दिनु गज्जबको संस्कार भएको बताए । ‘यसले राजनीतिक रुपमा नयाँ पुस्ता तयार गर्न पनि उत्तिकै सजिलो बनाएको छ । र, विद्यार्थीहरूले पनि त्यहाँ हुने तर्क वितर्क सुनेर आफ्नो धारणा बनाउन सक्छन्,’ उनले भने, ‘विद्यार्थीहरूलाई पढाएर मात्रै त्यहाँको बारेमा बुझाउनु भन्दा त्यही उपस्थित गराउँदा उनीहरूको बुझाईको लेभल अझै बढ्छ ।’

‘स्कुल अफ ल’बाट  बजेट भाषणको क्रममा ७ जना विद्यार्थीलाई अवलोकनका लागि संसद् पठाएकोमा उनीहरूले धेरै कुरा सिकेर आएको उनले बताए । ‘विद्यार्थीहरूलाईसंसद्मा हुने डिबेट र क्रियाकलाप नजिकबाट नियाल्ने गरि जुन सुविधा संघीय संसद् सचिवालयले दिएको छ । यो निकै फलदायी नै मानेको छु,’ अधिकारीले आफ्नो अनुभव सुनाए । 

संघीय संसद् सचिवालयले नेपालको जुनसुकै क्षेत्रका विद्यार्थीहरूलाई पनि बैठकमा सहभागी हुन सक्ने बताएको छ । यद्यपि हालसम्म काठमाडौं उपत्यका बाहिर र दुर्गम क्षेत्रका विद्यालय तथा कलेजहरूबाट संसद् बैठकमा सहभागी हुनेगरि विद्यार्थीहरू आउने गरेका छैनन् । उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुरका विद्यालय तथा कलेजहरूबाट भने निरन्तर रुपमा विद्यार्थीहरूले संसद् बैठकमा सहभागिता जनाउँदै आएका छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १४:१४
राजनीति
विशेष
Weather Update