काठमाडौं— नेपाली कांग्रेस सांसद दीपक गिरीले सांसदहरूको कुनै हैसियत नभएको भन्दै आफूलाई झोले सांसदको संज्ञा दिएका छन ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद गिरीले भने, ‘म त सलाम गर्छु बालेनजी लाई, उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो ।’
प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सांसदहरू बल्ल वडाध्यक्ष सरह पुगेको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए ।
बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै सांसद गिरीले सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको बताए ।
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै निर्वाचन क्षेत्रमा समानुपातिक रूपमा बजेट विनियोजन भएको सांसद गिरीको भनाइ थियो । सांसदलाई आफ्नो भूमिका निर्वाह गर्न कठिन रहेको गिरीको भनाइ थियो । बजेटमा आयोजनाको वितरण समानुपातिक र आवश्यकताका आधारमा नभएको पनि गिरीले बताए । उनले त्यसलाई निर्वाचन क्षेत्रबाट सकारात्मक प्रतिक्रिया नआएको बताए ।
मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो रकमका आयोजना छुट्याउने प्रवृत्ति कायमै रहेको उनले बताए । संसदीय मर्यादा र अभ्यास मान्ने भए पनि सरकारको यस्तो विनियोजनको आलोचना गर्ने उनको भनाइ थियो ।