News Griha :: न्यूजगृह
आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी

काठमाडौं— नेपाली कांग्रेस सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा उनले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि अपरान्ह ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए ।

‘जतिबेला भारतमा ब्रिटिश इन्डिया गभर्मेन्ट थियो, अथवा कम्पनी सरकारको गभर्मेन्ट थियो त्यतिबेला भारतको बजेट बेलुका ४ बजे भनिदो रहेछ । कारण के भने इङ्ल्याण्डमा बिहानको १० बज्दो रहेछ । त्यतिबेला त्यहाँको बजेट त्यहाँ ब्रिटिसहरूलाई सुन्नु जरुरी रहेछ,’ सांसद गिरीले भने, ‘त्यो कारणले चलेको चलन यद्यपि नेपालमा चार बजे आयो । त्यो सुधार्नुपर्यो । म सबै सरकार पक्षीय, प्रतिपक्ष सबैलाई भन्छु । अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्यो ।’ 

तत्कालीन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इङ्ल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिसहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनको भनाई थियो । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:२७
Weather Update