
काठमाडौं— नेकपा एमाले सांसद विष्णु पौडेलले सरकार आफैँले चालू खर्च कटौती गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढि हुनु सरकार आफैँले गरेको घोषणा विपरित रहेको बताए ।
उनले भने, ‘चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पूँजीगत विनियोजन ७८ अर्ब ३१ करोडले कम छ सभामुख महोदय । यसको अर्थ के हो भने चालू खर्च घटाउँछु भनेको बढाउने र पूँजीगत खर्च बढाउँछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ सभामुख महोदय । बजेटमा जे बोलिएको छ । र, बजेट जसरी प्रस्तुत भएको छ । यो असङ्गत छ सभामुख महोदय ।’
सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको उनको भनाई थियो । त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि पौडेलले औंल्याए । उनले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असङ्गत रहेको दाबी गरे ।