News Griha :: न्यूजगृह
डीएलएको अध्यक्षमा केसी निर्वाचित

चितवन— नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डीएलए)को११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

केसीले ६५३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लक्ष्मीदेवी दाहाल रावलले १७७ मत प्राप्त गरे । यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भुसालले ५३ मत प्राप्त गरे ।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी भएका छन् । उनले तीन सय १५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी चन्द्रमणि अधिकारीले दुई सय ६४ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा कविता थापा कार्कीले छ सय १९ मत प्राप्त गर्दा प्रतिस्पर्धी दीना श्रेष्ठले चार सय १२ मत प्राप्त गरिन । यस्तै बागमती प्रदेश उपाध्यक्षमा जनराज श्रेष्ठ निर्वाचित भएका छन् ।

उनले एक सय ४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हेमन्तराज दाहालले एक सय नौ मत प्राप्त गरे  । कोशी प्रदेश उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेश उपाध्यक्षमा रामानन्द साह, गण्डकी प्रदेश उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनी प्रदेश उपाध्यक्षमा विष्णुप्रसाद धिताल, कर्णाली प्रदेश उपाध्यक्षमा पदमबहादुर शाही र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा गङ्गाराम पाध्याय निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक हेमराज नेपालले जानकारी दिए । 

नेपालका अनुसार महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी विजयी भएका छन् । यस्तै सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवतर्फ धनमाया राना,  कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन्  । महाधिवेशनमा देशभरका ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय १० जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । यसमध्ये एक हजार ६१ मत खसेको थियो ।  

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ११:१३
Weather Update