News Griha :: न्यूजगृह
चितवनमा खडेरीले मकै खेतमै सुके, किसान चिन्तित

चितवन— खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए । उनले भने,‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो । मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो ।’

भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएकी थिइन् । सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेकी छिन् । सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेकी छिन् ।  सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ ।

पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन् । उनले भनिन्, ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु । चाख्नसमेत नपाइने भयो मकै । मल, बीउ र मेहनत त्यसै खेर गयो ।’

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताए । ‘सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ,’ उनले भने ।

चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ । मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १०:०६
Weather Update