काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गीत-सङ्गीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन् ।
अन्तराष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सङ्गीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सङ्गीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै दाहालले त्यसलाई निरन्तरता दिन चाहेको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले भने, ‘हामीहरूको एउटा प्रचलनै के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धेरै हुने । भाषणले जे कार्यक्रमको महत्व हो, त्यसलाई नै कम गरिदिने गरेको छ । त्यसकारण अहिले म भाषण गर्दिन । सङ्गीतको प्रवर्द्धनको लागि काम गर्नेछु । किनकी मैले पहिलो चोटी प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रलाई सरकारको तर्फबाट केही सहयोग गर्ने अवसर पाएको थिए । अहिले पनि तपाईँहरूलाई सहयोग हुने विश्वास दिलाउँछु ।’
उनले ज्यापु संस्कृतिको संरक्षणका लागि गरिएको मागहरू सम्बोधन गर्न पनि सरकार प्रतिवद्ध रहेको बताए ।