काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सबैले आफ्नो ठाउँबाट एकजुट भइ देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताइन् ।
उपमेयर डङ्गोलले भनिन्, ‘आज विभिन्न बाजा, आफ्नै आफ्नै विशेषता भएको बाजा जसरी एकैसाथ एकै थलो मुनि बसेर बाजा बजाइरहेका छौँ । यो एकता बाजा बजाउनेमा मात्रै होइन, यो एकता समाजसेवा गर्ने, देश सेवा गर्नेमा सदैव अघि बढ्न सकोस् । सय थरी बाजा एकै ताल भने झैँ हामी सबै आफ्नो ठाउँबाट एकजुट भएर लागौँ । हाम्रो कलाकृति, संस्कृति बाँच्नेमात्रै हाम्रो भाषा, लिपि, हाम्रो बाजागाजा जबसम्म जीवित हुन्छ तबसम्म हाम्रो पहिचान जीवित हुन्छ, पहिचान जीवित बनाउनको लागि सबै पुस्ता लाग्नुपर्छ ।’
उनले कलाकृति, संस्कृति बाँच्नेमात्रै देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन् ।डङ्गोलले पहिचान जीवित बनाउनको लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताइन् ।
उपमेयर डङ्गोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताइन् ।