News Griha :: न्यूजगृह
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

इस्लामावाद— पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलर बराबरको नोक्सान गरेको बताएका छन् । 

एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३(२४ को स्वीकृति दिन बोलाइएको संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई यसबारे जनाकारी गराएका हुन् । 

प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न मद्दत गरेको पनि उल्लेख गरे । 

एआरवाई न्युजका अनुसार चीन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले पाकिस्तानलाई सहयोग गरेको र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई रोकिएको ऋण कार्यक्रमको पुनरुत्थानको आश्वासन  दिइएको पनि जानकारी दिए । कोषका प्रमुखसँग एक घण्टा लामो टेलिफोन वार्तामा प्रधानमन्त्री शहबाज शरीफले आईएमएफसँगको नवौँ समीक्षा जुलाई महिनामा सम्पन्न हुने कुरा दोहोर्‍याएका छन् । 

पाकिस्तानको राजनीतिक अस्थिरताबारे टिप्पणी गर्दै उनले राजनीतिक अस्थिरता अन्त्य नगरी आर्थिक विकास सम्भव नहुने पनि बताएका छन् । 

पूर्व सरकारको गलत प्रतिबद्धताका कारण आईएमएफले पाकिस्तानलाई विश्वास नगरेको उनको बुझाइ छ । बढ्दो मुद्रास्फीतिले सर्वसाधारणको पीडा थपिएको पनि प्रधानमन्त्रीले स्वीकार गरे । गठबन्धन सरकारका नीतिहरूका कारण यो आर्थिक समस्या देकिएको भन्दै प्रधानमन्त्री शेहबाज शरीफले आगामी दिनहरूमा स्थितिमा सुधार आउने बताए । रासस

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:४५
Weather Update