
कैलाली— भारतले नेपाललाई दिने भनिएको ७ वटा मुर्रा राँगो संघीय संसद्मा रमिता र घोचपेचको विषय बनेपनि कृषि कर्ममा लागेका किसानमा भने यसले उत्साहको सञ्चार गराएको छ ।
मुर्रा राँगोको प्रजनन क्षमता र यसको सहयोगबाट उत्पादन हुने भैँसीको दूध दिने क्षमता असीमित हुने भएकोले पनि दुग्ध उत्पादक किसानहरू खुसी देखिएका छन् ।
नेपालमा भैँसीलाई बहुउपयोगी पशुको रुपमा पाल्ने चलन छ । दूध दिन सक्षम भएसम्म दूध, दही, मोही र घ्यूको रुपमा र दूध दिने क्षमता गुमाएपछि मासुको रुपमा प्रयोग गर्ने चलन छ । यसकारण पनि भैँसी पाल्ने किसानको संख्या नेपालमा बढ्दो छ ।
कैलालीको गोदावरी नगरपालिका– ३ मालाखेतीमा रहेको स्वर्णिम एग्रिकल्चर प्रालि भैँसी फार्मको रुपमा सुदूरपश्चिमका ९ जिल्लाका किसानका लागि मात्र नभइ भारतीय किसानका लागि पनि आकर्षणको केन्द्र बनेको सञ्चालक बालकृष्ण भट्टराई बताउँछन् ।

उनले भने, ‘२०६७ सालमा खुलेको फार्ममा अहिले सुदूरपश्चिमका ९ जिल्लाका किसान र भारतीय किसानहरू आउजाउ हुन्छ, भैँसी पाल्ने खरिद बिक्री गर्नेका लागि फार्म सहयोगी बनेको छ, दूध दिएसम्म पालेर दूध दिन छाडेपछि मासुको प्रयोजनका लागि पनि किसानहरूले आफ्ना भैंसी यहीं ल्याउने गरेका छन् ।’
फार्मका सञ्चालक भट्टराईले कृषि कर्ममा लागेका दुग्ध उत्पादक किसानका लागि मुर्रा राँगोले उत्साहको सञ्चार गराएको बताउँछन् । मुर्रा राँगो हरेक भैंसी पालक किसानको पहुँचमा पुगे यसले नेपालको पशुपालन क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वास पनि भट्टराईको छ ।
उनले भने, ‘कृषिमा आत्मनिर्भर बनाउन यस्ता कदमले ठूलो सहयोग पुग्छ । भारत सरकारलाई मनाएर अझ बढी यस्ता राँगो ल्याउन सके अझ राम्रो हुने थियो , मुर्रा राँगो नेपाल आउने भएपछि किसान सबै खुसी छन्, यसले दूध उत्पादनमा ठूलो क्रान्ति ल्याउने र मासुको आवश्यकतालाई पनि सहयोग गर्नेछ । ’
सञ्चालक भट्टराईले नेपाली किसानहरू कृषि कर्ममा नै भविष्य खोजिरहेको बताउँछन् । सरकारको धेर थोर सहयोग भए यही क्षेत्रमा धेरै गर्न सक्ने अवस्था रहको पनि उनले बताए ।
उनले भने, ‘कृषिमा नेपाललाई आत्मनिर्भर गराउन सरकारको भूमिका नै प्रमुख हुन्छ, मुर्रा जातको राँगो नेपालले पाउँदा किसानमा देखिएको उत्साह नै अर्कै छ, यस्तै उत्साह जगाउने सहयोग किसानलाई आवश्यक छ ।’