माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

मुगु—खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मृत्यु भएको छ ।
छायाँनाथ रारा नगरपालिका– १ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका– ४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो ।
ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भाम शुक्रबार दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए । अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० ०६:४१