चितवन— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पुनः सभापति बन्ने रहर नभएको बताएका छन् ।
नेपाल डेमोक्र्याटिक लयर एशोसिएशन (डीएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार भरतपुरमा सम्बोधन गर्दै पुनः सभापति बन्ने रहर नरहेको देउवाले बताए ।
नेकपा एमालेभित्र उमेर हद हटाइएको भन्दै उनले भने,‘हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।’
प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले कानुन व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए ।
उनले भने,‘रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानुन व्यवसायी हुन् ।’ प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डीएलएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।