News Griha :: न्यूजगृह
आगामी दिनमा गर्मी झन् बढ्छ ? यसो भन्छन् मौसमविद्हरू

काठमाडौं— नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरूले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएकोबारे आयोजना गरिएको छलफल कायक्रममा बोल्दै मौसमविद्हरूले साे कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् ।

उनले न्यूनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको बताइन् । उनले नेपालमा १३ जूनबाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन नेपालमा हिट वेब हुने र त्यसपछिका केही दिनलगत्तै पुनः हिट वेब बढ्ने अवस्था रहेको बताइन् ।

उनले भनिन्,‘यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुनेछ । वर्षा कम हुने देखिएको छ । अधिकतम तापक्रम सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको छ । यो अझै धेरै समयसम्म रहन्छ । त्यस्तै न्यूनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको छ । नेपालमा मनसुन प्रवेश गर्ने भनेको १३ जून हो । अब एक दुई दिनमा पूर्वी भूभागमा वर्षा हुनेछ भने १६ तारिखदेखि वर्षा हुने देखिएको छ । हिट वेब अझै केही दिन लम्बिनेछ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरूले ठाउँठाउँमा माटोको भाँडामा पानी राखेर खुवाउने, सातु खुवाउने, कागती हालेर पानी खुवाउने र मोही खुवाउने विधिलाई अघि बढाउन जरुरी रहेको बताए ।

उनले यसमा सरकार र प्राधिकरणले पनि सहयोग गर्ने बताए । उनले भने,‘परोपकारी संस्थाहरुले ठाउँठाउँमा माटोको भाँडाहरूबाट कपडाले बेरेर पानी खुवाउने, बरफहरू हालेर खुवाउने, सातु खुवाउने, कागतीहरू हालेर खुवाउने, मोही खुवाउने यो धर्मको हिसावबाट पनि गर्ने गरिन्छ । यसलाई पनि हामीले अघि बढाउनुपर्छ । यसमा परोपकारी संस्थाको ठूलो भूमिका हुन्छ, समुदायमा यस किसिमका गतिविधि गर्न जरुरी छ । पालिकामुखी भएर काम गर्न जरुरी छ । यसमा छिटो छरितो टिम बनाएर जानुपर्छ, हरियाली बनाउन बिरुवा रोप्ने काममा पनि हामी लाग्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा अन्य मौसमसम्बन्धी विज्ञ र सरोकारवाला निकायक प्रतिनिधिहरूले पूर्वसूचना प्रणाली कमजोर रहेको बताए । गर्मीका कारण लू लाग्ने, वान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस् हुने, मांसपेशीहरू दुख्नसक्ने विज्ञहरूले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:४४
Weather Update