News Griha :: न्यूजगृह
सरकारलाई सांसदको प्रश्न– ईसीडी शिक्षक र विद्यालय कर्मचारीका माग कहिले पूरा गरिन्छ ? 

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीका माग कहिले पूरा हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

उनले (२६ जेठ) शुक्रबार बसेको संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठकमा सरकारलाई उनीहरुको मागबारे प्रश्न गरेका हुन् । 

सरकारको नीति तथा कार्यक्रममा शिक्षक र कर्मचारीका माग समेटिनु तर बजेटमा नसमेटिनु दुर्भाग्य भएको भन्दै सांसद दाहालले यथाशीघ्र शिक्षक र कर्मचारीका समस्या समाधान गर्न माग गरे ।

उनले भने,‘नीति तथा कार्यक्रमको १२७ मा विद्यालय कर्मचारी र बालविकास शिक्षकको माग सम्बोधन गर्ने अथवा सेवा सुविधा वृद्धि गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो । तर बजेटमा देखिँदैन । यसैसँग जोडिएर विद्यालय कर्मचारी र बालविकास शिक्षक आन्दोलनमा छन् ।सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यतिखेर देशभरका विद्यालय कर्मचारी र ईसीडी शिक्षक सेवासुविधा वृद्धिको माग गर्दै आन्दोलित छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:०७
Weather Update