
काठमाडौं— तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रचण्ड बहालवाला प्रधानमन्त्री हुन् ।
आफ्नो रिट दरपिठ भएपछि त्यसविरुद्ध सर्वोच्च पुगेका पूर्वबाल सैनिक लेनिन विष्टको मुद्दामा शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।
माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतले उक्त रिट दरपिठ गरेपछि विष्ट दरपिठविरुद्ध सर्वोच्च पुगेका थिए ।
विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताले बाल सैनिक प्रयोग गरेको भन्दै कारबाहीको माग गरेका छन् ।
रिटमा उनले हालका प्रधानमन्त्री समेत रहेका तत्कालीन माओवादी सुप्रिमो प्रचण्डसहितका शीर्ष नेतालाई विपक्षी बनाएका छन् ।