
काठमाडौं— सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘निरपेक्ष गरिबीको रेखामुनि बसेका सिमान्तकृत नेपालीको सामाजिक सुरक्षा, न्याय र आयलाई प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुन सकेनौँ भने केही ठाउँको विकासले क्षणिक विकास होला तर, राष्ट्रिय विकासको गति अगाडि बढ्न सक्दैन ।’
सांसद केसीले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले सदनमा सांसदहरूले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोप्रति आपत्ति जनाए ।
‘संसद्भित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत छ । प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई मैले गम्भीर आपत्तिका रूपमा लिएको छु,’ उनले भने, ‘कस्तो किसिमको संसदीय अभ्यासमा गइरहेका छौँ ? आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौँ ?’ रासस