
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा भ्रष्टाचारको नाङ्गो र चर्को रूप देखिएको टिप्पणी गरेका छन् ।
समाजवादी प्रेस संगठनको काठमाडौंमा सुरु प्रथम राष्ट्रिय महाधिवेशनमा उनले नेपाली राजनीतिमा देखिएको भ्रष्टाचारको नाङ्गो रूप आफ्नो पार्टीले परिर्वतन गर्न चाहेको बताए ।
उनले भने, ‘नेपाली राजनीतिमा सबभन्दाचर्को कुरा भ्रष्टाचारको प्रवृति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि यो भ्रष्टाचारले काम गरेको छ । बिना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक, सामन्त, जाली, फटाहा पूँजीपतिहरु हाबी हुनपुग्ने, इमान्दार पिल्सिरहनुपर्ने जुन यो अवस्था छ, यसलाई हामी परिवर्तन गर्न चाहान्छौँ ।’
उनले नेपाली समाजमा भ्रष्टाचारसँगै कुरीतिको पनि नाङ्गो रूप देखिएको भन्दै त्यसकाविरुद्धमा राजनीतिक र समामाजिक अभियन्ताले स्पष्ट दृष्टिकोण बनाउन आवश्यक रहेको समेत बताए ।
उनले भ्रष्टाचारको विरुद्धमा असल र स्वच्छ छवि बनाएर काम गर्नसके मात्र कर्तव्य पूरा हुने भन्दै कोही कसैमाथि आग्रहपूर्वाग्रह नराखी कलम चलाउन पार्टीनिकट पत्रकारलाई निर्देशन दिए ।
संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसविरुद्ध एक भएर कलम चलाउन उनको अनुरोध छ । ‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रूप आएको छ । चाहे त्यो भुटानी शरणार्थी प्रकरणमा होस् या बिना पैसा कुनै काम नहुने प्रवृति होस्, मिटर ब्याजले पीडित जनताको क्रन्दनको कुरा होस् वा दलितमाथि भएको भेदभावको प्रवृति होस् यी सबै खालका गलत प्रवृतिका विरुद्धमा राजनीतिक र सामाजिक अभियान्तहरूले प्रष्ट अृष्टिकोण बनाएर अगाडीबढ्न जरुरी छ,’ नेपालले भने ।