News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा एमालेको विरोध
फाइल तस्बिर ।

काठमाडौं— प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो । 

बैठक सुरु भएलगत्तै एमाले सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिएका थिए । सांसद भट्टराईले २०७९ फागुन १७ गते प्रदेश सभाबाट दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको नामकरण भएको सन्दर्भमा असहमति भए पनि लोकतान्त्रिक विधिबाट भएको निर्णयलाई पालना गर्नुका साटो पटक–पटक अवाञ्छित घटना हुन थालेको बताए । 

उनले प्रदेशको नामकरण भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई झापामा ढुङ्गामुढा गर्ने, एम्बुसु थाप्ने र अवरोध सिर्जना गर्नेजस्ता कार्य भएको स्मरण गराए । 

उनले उदयपुरमा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारको गाडीमाथि हमला भएको घटना पनि स्मरण गराए । साथै प्रदेशको नामकरण सम्बन्धमा विराटनगरमा निधन भएका एक प्रदर्शनकारीको निधनको घटनाबारे पनि गृहमन्त्रीको जवाफ माग गए । 

उक्त प्रश्नका सन्दर्भमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले जवाफ दिएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:१४
Weather Update