
काठमाडौं— उखरमाउलो गर्मीले तात्नुभएको छ भने नआत्तिनुस्, मनसुन आउन लागेको छ ।
बंगालको खाडीबाट आउने मनसुनी वायु बिहीबार (२५ जेठ) भारतको केरला पुगेको छ । उक्त मनसुनी वायु आइतबार नेपालको पूर्वमा प्रवेश गर्ने अनुमान गरिएको जल तथा मौसम विभागका मौसमविद् बरुण पौडेलले बताए । मनसुन केरलामा आएपनि नेपाल प्रवेश गर्न केही समय लाग्ने उनको भनाइ छ ।
उनले अझै करिब पाँच दिन मनसुनी वर्षा नहुने न्यूजगृहलाई बताए । उनी भन्छन्, ‘पूर्वमा मनसुन प्रवेश ११ जुनभित्र होला । पूर्वमा हामीले केही मनसुनी गतिविधि भएर गर्मीमा राहत हुनेछ । त्यसपछि सोही मनसुनी वायु पश्चिमतर्फ सर्दै आउनेछ ।’
उनकाअनुसार आगामी बिहीबारसम्म देशैभरि मनसुनी वायुले बादल लाग्ने र वर्षा हुनसक्छ । भन्छन्, ‘हामीले वायुको गतिलाई नजिकबाट नियालिरहेका छौँ । अबको तीन दिनभित्र मनसुन नेपालमा भित्रिनेबारे स्पष्ट जानकारी पाउनेछौँ ।’