नेपालमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल छ : बाबुराम भट्टराई

काठमाडौं— नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल भएको बताएका छन् ।
बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकमा उनले भने, ‘देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ ।’
आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए ।
उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने बताए ।
उनले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो औँल्याए ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १६:४६