News Griha :: न्यूजगृह
नेपाली सेनाको बारेमा नचाहिँदो प्रचार भयो : प्रधानसेनापति शर्मा
पोखरामा बिहीबार आयोजित नेपाली सेना भूपू सम्मेलन-२०७९ को उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिर : रासस

कास्की— प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने सरकारले निर्धारण गर्ने बताएका छन् ।

नेपाली सेना भूपू सम्मेलन–२०७९ को आज बिहीबार पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने बताए ।

उनले भने,  ‘यो कुनै आईएनजीओ/एनजीओमा बसेर आफैं स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो ।’

प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झुटा प्रचारबाट टाढा रहन पनि आग्रह गरे । उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको पनि बताए ।

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवम् देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १७:४४
Weather Update