News Griha :: न्यूजगृह
गर्मी बढेसँगै बागमतीको दुर्गन्ध बढ्यो
फाइल तस्बिर ।

ललितपुर— बाघद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्ने बागमती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । 

बागमती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन् बढाएको छ । गर्मी सुरु भएसँगै बागमतीको दुर्गन्ध बढ्छ । दुर्गन्ध न्यूनीकरण गर्नेतर्फ कसैको चासो र चिन्ता भने छैन । 

bagmati river DSC_5340 (13)1678623599.jpg

दुर्गन्धका कारण बागमती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र बागमती नदीको दोभान छ । दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन् ।

बागमती नदीअन्तर्गतका अन्य पुल तथा बागमती करिडोरमा पैदलयात्रा गर्ने नाकमुख थुनेर हिँड्छन् । कुलेश्वरमा रहेको फलफूल बजार र बल्खु पुलको छेउमा रहेको तरकारी बजारमा दुर्गन्ध अत्यधिक बढेको छ । ललितपुर सानेपा बस्ने सजीव केसीले भने, ‘हावा चल्यो भने बागमती नदीको गन्ध करिब एक किलोमिटर परसम्मको बस्तीमा पुग्छ । नदीबाट आएको गन्धका कारण राति निन्द्रा पर्दैन, खाना मन लाग्दैन ।’ 

bagmati river DSC_5340 (12)1678623598.jpg

स्वास्थ्य शिविरको कामका लागि जाँदा बागमती गाउँपालिकाको प्युटार पुग्दा त्यहाँसम्मै दुर्गन्ध पुग्ने उनले अनुभव सुनाए । उनले भने, ‘सानेपामा बागमती नदीको छेउ मै नेपाली कांग्रेसको पार्टी कार्यालय छ । यहाँ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आउनुहुन्छ तर उहाँहरूलाई बागमती नदीको गन्ध कसरी कम गर्न सकिन्छ भन्नेतर्फ चिन्ता नै छैन ।’

सानेपाका ४५ वर्षीय विशाल शाहीले बागमती करिडोर छेउमा पसल व्यवसाय गर्न लागेको वर्षौँ बितिसक्यो । नदीको दुर्गन्ध पनि वर्षौँदेखि उस्तै रहेको उनले सुनाए । उनले भने, ‘गत वर्ष डेङ्गु बढेका बेलामा हाम्रो पूरै परिवार डेङ्गु सङ्क्रमित भयो । अहिले पनि बेलाबेलामा हैजालगायत सङ्क्रमित रोग देखा पर्छन् । नदीको दुर्गन्धसँग जोडिएको वर्षौँ बितेकाले बानी परिसकेको छ ।’ 

बागमती नदीको किनारमा बस्ने सुनकुमारी गुरुङले फागुन सुरु हुने बित्तिकै बागमतीको दुर्गन्ध सुरु हुने बताउँछिन् । ‘फागुन लागेपछि हावा चल्न थाल्छ । हावा चल्यो भने दुर्गन्ध फैलिन्छ र बस्नै गाह्रो हुन्छ । राति निन्द्रा पर्दैन । यहाँ बसेको वर्षौँ भयो तर समस्या सँधै उस्तै छ,’ उनले भनिन्  ।

bagmati river DSC_5340 (5)1678623596.jpg

नदीबाट निस्कने दुर्गन्धका कारण नदी आसपासका बासिन्दालाई सास्ती भइरहेको छ । ‘बागमतीबाट निस्कने दुर्गन्धको असर कति छ भन्ने कुरा त हामीलाई थाह छ । बागमतीमा ढल मिसाउनेलाई थाह छैन,’ गुरुङले भनिन्  । 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:५५
Weather Update