
काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री र अर्थमन्त्रीलाई चुरे क्षेत्र दोहनको बाटो नखोल्न चेतावनी दिएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै उनले चुरे छोएमा देशमा आगो बल्ने चेतावनी समेत दिए ।
‘माफ गर्नुस् अर्थमन्त्रीजी नीति तथा कार्यक्रममा पनि आएको छ, प्रधानमन्त्रीको भाषणमा पनि आएको छ, तपाईंको बजेटमा पनि आएको छ, चुरे नछुनु होला । चुरे छुनु भयो भने देशमा आगो बल्छ । प्राकृतिक स्रोत साधनलाई बेचेर देश कहिले पनि धनी हुँदैन । चुरे बेचेर मुलुकको खर्च टार्न सकिँदैन,’ उनले भने ।
आफ्नो क्षेत्रमा मात्रै बजेट हालेको आरोप लगाउँदै उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई बैँस चढेको टिप्पणी गरे ।
‘बजेटमा ग्वाम्म हात हालेको छ नुवाकोटमा लगेर घोप्टाएको छ । अर्कोले बजेटमा हात हालेको छ गार्खामा घोप्टाएको छ । अर्को फेरि तिमीहरू मात्र घोप्टाउने भन्दै मादल बजाएर बसेका छन् डडेलधुराको बुढा । त्यहाँ पनि लगेर घोप्टाएको छ । अरूलाई के त ?’ उनले भने ।
प्रधानमन्त्री र अर्थमन्त्रीप्रति चर्को आक्रोश पोखेका नेता पन्तले देशलाई गलत बाटोमा लैजाने खेल भएको आरोप लगाए । ‘प्रधानमन्त्री र अर्थमन्त्रीलाई लर्के जोवान आएको छ । चौतारीमा बसेर गीत गाउनुस् मायालु भनेर । तर, जनता र अरू निर्वाचन क्षेत्रको लागि सत्ता पक्षले सर्मथन गर्न सक्दैन ।’
उनले भने, ‘देशको प्रधानमन्त्री निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुँदैन । बजेट खन्याएर मात्र चुनाव जितिने भए चितवन छोडर गोर्खा किन जानु पर्यो । देशको नेतृत्व गर्नसक्ने नेता खोजेका छन् जनताले । गन्तव्यहीन बजेटले देशलाई कहाँ पुर्याउला ।’