News Griha :: न्यूजगृह
‘जब पर्‍यो राती, तब बूढी ताती’ शब्द संसद्को रेकर्डबाट हटाइयो 

काठमाडौं— अर्बपति समेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्ने क्रममा आपत्तिजनक शब्द बोलेको भन्दै उनको भ्वाइस संसद्को रेकर्डबाट हटाइएको छ ।

बिहीबार बजेटमाथिको छलफलमा बोल्ने क्रममा उनले नेपाली उखान ‘जब पर्‍यो राती तब बूढी ताती’ भन्ने शब्द प्रयोग गरेका थिए । उक्त शब्दप्रति नेकपा एमाले सांसद दिपा शर्माले नियमापत्ति जनाइन् । उनले प्रतिनिधि सभा नियमावलीको २१ को ‘घ’ मा संसद्मा कसैलाई अपमान गर्न नपाइने लेखेको बताउँदै उखानलाई लिएर जहिले पनि नेपाली महिलामाथि आक्रमण गर्ने गरिएको बताइन् । त्यसपछि सभामुख देवराज घिमिरेले सो उखान लैङ्गिक मैत्री नभएको भन्दै संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।

सांसद चौधरीले धान रोप्ने बेला भएपछि मात्र सरकार रासायनिक मल खोज्न हतारिने गरेको भन्दै सो सन्दर्भमा सरकारको काम ‘जब पर्‍यो राती तब बूढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:५७
Weather Update