
जुम्ला— किसानलाई यो याममा मार्सी धान रोपाइँको चटारो छ । किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन्छन् ।
जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जुम्लामा धान रोपाइँ हुन्छ । गुठीचौर गाउँपालिका राज्यलक्ष्मी देवकोटाका अनुसार पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् ।
जुम्लामा उत्पादन हुने मार्सी चामलको माग बढिरहेकाले पनि यसको खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए । सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धाने रोपाइँ धमाधम भइरहेको छ । जुम्लामा २ हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । जसमध्ये १ हजार २०० हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको अधिकारी बताउँछन् ।
गतवर्षको असोजमा आएको बाढीपहिरोका कारण सिञ्जा गाउँपालिकाका ४२ वटा धान रोपाइँ गर्ने कुलोमा क्षति पुगेको थियो । गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानमा २८ वटा कुलो पुननिर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए ।
शेरा खेतमा रोपाइँ सम्पन्न
प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा भने कालीमार्सी धान रोपाइँ सम्पन्न भइसकेको छ ।
परम्परागतरूपमा रोपिँदै आएको मार्सी धान शेरा खेतमा बुधबार रोपिएको हो । चन्दनाथ बाबाले भारतको काश्मिरबाट ल्याएर खेती सुरु गरिएको मार्सी धानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए ।
हरेक वर्षको १४ जेठमा रोपाइँ हुँदै आएकोमा शेरा खेतमा योे वर्ष बीउको अभावले रोपाइँ ढिलो भएको हो । अध्यक्ष थापाले भने, ‘चन्दननाथ बाबाको शेरा जिउला परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ ।’ जुम्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलामा मार्सी धान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको स्थानीयले गुनासो गर्न थालेका छन् ।
परम्परागत रुपमा रोपाइँ हुँदै आएको शेरा खेतमा यो वर्ष २२ भारी खेतमा रोपाइँ गरिएको छ । तातोपानी गाउँपालिकाको लिताकोट, लाम्रा, हाँकु र चन्दनाथ नगरपालिका– ८ र ९ बाट बीउ ल्याएर रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।
समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलामा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्न प्रदेश सरकारले प्राथामिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ । सङ्घीय सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गर्ने उल्लेख गरेको छ ।