News Griha :: न्यूजगृह
महायज्ञमा वेदी पूजा गर्न दलित समुदायले गर्नुपर्‍यो १ महिना आन्दोलन

काठमाडौं— धार्मिक महायज्ञमा वेदी पूजा गर्नका लागि पनि दलित समुदायले आन्दोलनको सहारा लिनुपरेको छ । यो घटना वीरगंज महानगरपालिकाको हो । 

वीरगंज महानगरको वडा नम्बर १७ स्थित अलौमा २२ वर्षपछि हुन लागेको शतचण्डी महायज्ञमा त्यहाँका केही स्थानीय कथित उपल्ला जातका भनिएका व्यक्तिहरुले दलित समुदायलाई पूजा गर्न रोकेका थिए । 

पूजा संचालनमा आईसकेको छ । हाल भने दतिल समुदायले वेदी पूजा गर्न पाउने गरि सहमती भएको छ । हिन्दु समुदायको पूजा भएपनि कथित उपल्ला जातका केही व्यक्तिहरुले कुनैपनि हालतमा दलितलाई वेदी पूजा गर्न नदिने अडान लिएका थिए । त्यसपछि त्यहाँका हिन्दु दलितहरु संघर्ष समिति नै गठन गरेर पूजा गर्न पाउनुपर्ने मागसहित आन्दोलन गरेका थिए । 

parsa-dalit-andolan1679571365.JPG

स्थानीय पालाक कुर्मी चौधरी, हरिनारायण यादव, अशोक चौधरी, किसुनदेव भगत यादव लगाएतका व्यक्तिहरुले दलित समुदायलाई कुनै पनि हालतमा वेदी पूजा गर्न नदिने ढिपी कसेका थिए । ‘त्यसपछि हामीले पनि वेदी पूजा गर्न पाउनुपर्छ भन्ने अडान लियौँ । र, संघर्ष समिति नै गठन गरेर विभेद विरुद्ध आन्दोलन गर्‍यौं ।’ दलित संघर्ष समिति अलौ वीरगंजका अध्यक्ष विष्णु रामले भने,‘एक महिना लामो संघर्ष पछि बल्ल वेदी पूजा गर्न दिन कथित उपल्लो जातका भनिएका गैरदलित समुदाय सहमत भयो ।’ 

स्थानिय दलित समुदायले वेदी पूजा गर्न पाउनुपर्ने माग राख्दै आन्दोलन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा कार्यालयमा उजुरी समेत दिएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, डिएसपी दिपक गिरी र वीरगंज वडा नम्बर १७ का वडा सदस्य अमोद यादवको रहोवरमा दुई पक्षबीच दलित समुदायले पनि महायज्ञको वेदी पूजा गर्न पाउने गरि सहमती भएको थियो । 

parsa-dalit-andolan-sahamati1679571365.JPG

वेदी पूजा गर्न पाउने भएपछि १ महिनादेखि चल्दै आएको संघर्ष समितिको आन्दोलन स्थगीत भएको संघर्ष समितिका अध्यक्ष विष्णु रामले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १७:१२
Weather Update