
काठमाडौं— राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्न तयार भएका छन् ।
पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् ।
तर, त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसकेका भएको गौतमको सर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ ।
उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे ।
एमाले आफूले निर्माण गरेको पार्टी हो भन्दै गौतमले त्यसलाई माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको जानकारी दिए । केही दिनभित्र पार्टी सदस्यता नवीकरण गर्नेसमेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।
यसैबीच, एमाले अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् ।
बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ‘७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि’ भनी प्रश्न गरेका थिए ।
ओलीले ‘अब थप केही कुरा छ र ?’ भन्ने प्रतिक्रिया दिए ।
उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।
‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकी छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’
एमाले फर्कन तयार वामदेव गौतमले सञ्चारकर्मीसँग भने : ‘यदि उहाँहरूले मलाई खबर गर्नुभयो । तपाईंलाई अहिले पनि निलम्बन भएको छ । आगामी महाधिवेशनसम्म निलम्बन भइरहन्छ । तपाईं आउनु पर्यो भन्नु भयो भने म र मसित रहेका जेजति साथीहरू छन्, त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैँ । यही अवस्थामा जान्छौँ । अरू केही पर्दैन अब ।
उहाँहरूले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनु भएको हो । मैले त्यसबेला के भनेको थिए भने ७० वर्ष यहाँ भएका सबै पुग्नु हुन्छ एक दिन । एउटा ७० वर्ष पुग्नुअघि अध्यक्ष भइहाल्यो भने अरू बाँकी रहेका ७० वर्ष पुगिहाल्छ । उनीहरू त आउट हुनैपर्छ । त्यसो भएर ७० वर्ष सबैको निम्ति आउँछ । मेरो निम्ति मात्रै आउन लागेको होइन । राख्नु हुन्छ भने राख्नुस् भन्ने मेरो त्यो प्रतिक्रिया थियो । मसहित उपस्थित भएको बैठकबाट यो प्रस्ताव उहाँहरूले पारित गर्नु भएको थियो ।
अब ४/५ वर्षमा ७० वर्ष पुग्ने नेताहरू १०/१२ जना छन । त्यो हट्यो भने त्यसभित्र भएका धेरै अध्यक्ष पनि हुन पाउँछन् । महासचिव पनि बन्न पाउँछन् । हटेन भने एउटा बन्छ । १०/१२ जना नेताहरू जो अनुभवी छन् । उनीहरू हट्छन् । यसरी अन्तिममा गएर अनुभवी नेताहरू त्यहाँ समाप्त हुन्छन् । र, अनुभव नभएको व्यक्तिहरू माथि आउँछन् । साँच्चीकै राम्रो पनि गर्न सक्लान । तर, पुरानाले मात्रै त्यो अनुभव साटन सक्छन् । राम्ररी दिन सक्छन । तर, अरूहरूले त्यो गर्न सक्दैनन् । त्यस्तो पार्टी संस्कार र संस्कृतिविहीन हुन सक्छ । समृद्ध बन्न सक्दैन ।
यही निलम्बनकै अवस्थामा म जान सक्छु । तर, मेरो चाहिँ प्रस्ताव के हो भने त्यो हट्नैपर्छ भन्ने हो । किनकी त्यो मानवता विरोधी छ । नेपालको संविधानको विरुद्धमा छ । र, यो उमेर हद भनेको शारीरिक अवस्था हो । शारीरिक अवस्थाको आधारमा पार्टीमा बस्न पाउने, नपाउने भनेको विभेद हो । विभेद भनेको अपराधजन्य, कानुन विरोधी, गैरकानुनी काम हो ।
उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । म भन्थेँ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरूले भन्ने हो । मैले अरू धेरैसँग सोधेँ–उहाँहरू कसैले पनि बोल्नु भएन । निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ । उहाँहरूले भन्नु भएन ।
मेरो सदस्यता त्यहीँ छ । मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु । र, मेरो पार्टी सदस्यता किन छ भने मैले बनाए यो बीचमा । तर, त्यो पार्टी कम्युनिस्ट पार्टी पूर्ण रूपमा भइसकेको थिएन । हो त्यस्तो अवस्थामा पार्टी त्यही रहिरहोस् भनेर राखिराखेको छु मैले । उहाँहरूले हटाइदिनुभएको पनि छैन । र, पोहोर सालको नवीकरण भएको छ । अहिले श्रीमतीलाई पठाएर पार्टी सदस्यता नवीकरण गराउँछु । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’













