
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोग मात्रै भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभामा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण एकै दिन भएकोप्रति शंका व्यक्त गर्दै प्रधानमन्त्रीसँग जवाफ माग गरे । प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपतिलाई आफूले सुझाव मात्रै दिएको बताउँदै आफ्नो भारत भ्रमणको दिन प्रमाणीकरण हुनु संयोग मात्रै भएको स्पष्टीकरण दिए ।
उनले सदनमा पुनःविधेयक फिर्ता पठाउँदा सदनको सार्वभौम अधिकार राष्ट्रपतिको स्वविवेकमा जाने र त्यसले संविधान र लोकतन्त्रको रक्षाको लागि भोलि खतरा आउनसक्ने भन्दै चिन्ता प्रकट गरे ।
उनले भने, ‘मानौ हामीले दुवै सदनबाट कुनै विधेयक पारित गरेपनि राष्ट्रपतिलाई मन परेन भने उहाँले पनि होल्ड गर्दिन बाटो खुल्यो । त्यसले सदनको सार्वभौम अधिकार राष्ट्रपतिको स्वविवेकमा जाने भयो । उहाँलाई मन लागे प्रमाणीकरण गर्ने नलागे नगर्ने, भोलि संवैधानिक परिषद्ले ठुल्ठुला संवैधानिक नियुक्तिको निर्णय गर्छ, त्यो राष्ट्रपतिलाई मन नपरे प्रमाणीकरण नगरिदिने बाटो खुल्ने भयो । यही समस्या परेको छ । संविधान र लोकतन्त्रको रक्षा गर्ने उपाय के हो भन्ने निकै ठुलो प्रश्न यो भित्र अन्तरनिहीत छ ।’
प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकलाई पुनः राष्ट्रिय सभामा ल्याएर लैजाने हो भने त्यसले राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउने भन्दै सार्वभौम अधिकार राष्ट्रपतिमा पुग्ने चिन्ता व्यक्त गरे ।
उनले नागरिकता विधेयकबारे देखिएको मूल समस्याको समाधान गर्न पनि राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउने भन्दा सार्वभौम अधिकारको विषय सबैको चासोको विषय बनाएर समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताए ।
उनले सार्वभौम अधिकारको निरन्तरता सदन र सरकारको हुने भन्दै नागरिकता विधेयकबारे अदालतले स्टे अर्डर दिइसकेकाले यसबारे संविधान र लोकतन्त्रको मर्म एवं भावनाबाहिर गएर फैसला नगर्ने विश्वास व्यक्त गरे । उनले सर्वोच्चको फैसला मान्य हुने पनि बताए ।