
काठमाडौं— जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको बजेट विकृत पुँजीवाद र नस्लवादी चिन्तनबाट निर्देशित देखिएको आरोप लगाएका छन् ।
संसद्मा बजेटमाथिको छलफलमा भाग दिदैँ उनले सरकारले अहिले प्रस्तुत गरेको बजेटले राष्ट्रलाई कुनैपनि निकास नदिने बताए । ‘यो बजेट वास्तवमा समाजवादउन्मुख छदैँ छैन । बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ,’ उनले भने ‘त्यसले त्यस किसिमको बजेटले समाजवादीउन्मुख बाटो ओगट्न सक्दैन । समाजवादी उन्मुख हैन । समाजवादी विमुख बजेट रहेको छ ।’
नस्लवाद कुनै पनि देशको लागि हितकर नहुने भन्दै उनले न्यून विकास सुचकाङ्क भएको ठाउँमा कम बजेट दिनुले नस्लवादको चिन्तन स्पष्ट भएको उनको भनाइ छ । ‘नस्लवाद कुनै पनि देशको कुनै पनि जातिको कुनै पनि समुदायको हितकर हुँदैन यो चिन्तबाट मुक्त हुनुस् । चाहे गोरा हुन्, काला हुन्, नेप्टे हुन्, चेप्टे हुन्, चुच्चे हुन् इक्वेल छन् । इक्वेल्ली डेभलप गर्ने अवसर उनीहरूको अधिकार हो ।’
नागरिकबाट लिइएको करले कहाँ कसलाई फाइदा पुगेको छ भन्ने कुरा गम्भीर रहेको उनको भनाइ छ ।