News Griha :: न्यूजगृह
सरकारमा सम्मानजनक सहभागिता चाहिन्छः लोसपा

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग वरिष्ठ नेता शरदसिंह भण्डारीले निर्वाचन अघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताए । उनले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको समेत बताए । 

उनले भने, ‘अहिलेको समसामयिक परिस्थति र राजनीतिबारे हाम्रो छलफल भयो । साथै सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ । गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ । यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय भएको छ । गठबन्धनमा भएका पार्टीहरुको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ ।’
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:४२
Weather Update