
काठमाडौं— राष्ट्रियस सभाको बुधबारको बैठकमा सांसदहरूले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।
सांसद उदयबहादुर बोहोराले बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताए । प्रतिनिधि सभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा आपत्ति प्रकट गरे ।
सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराए । उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरे ।
सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा संघीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे ।
सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनतामा बीचमा नराम्रो सन्देश दिएको बताए ।
सांसद भुवनबहादुर सुनाले भूमिहीन, दलित सुकुम्बासीलाई आगामी आर्थिक बर्षको बजेटले कुनै सम्बोधन गर्न नसकेको भन्दै सरकारको ध्यानकर्षण गराए ।
सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे ।
सांसद सुरेशकुमार आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारबाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधि सभामा देखिएको भन्दै राष्ट्रिय सभामा त्यस्तो हुन नहुने बताए । रासस