News Griha :: न्यूजगृह
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँग दुई विकल्प,  कुन रोज्लान्? 

कास्की— केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै गण्डकी प्रदेश सरकार पनि फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । गण्डकी प्रदेश सरकार नेकपा एमालेको नेतृत्वमा छ ।

माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा २५ पुसमा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनासाथ नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए । ‘प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे गठबन्धन दलको शीर्ष तहमा छलफल भइरहेको छ, एक÷दुई दिनभित्रैमा त्यसको टुङ्गो लाग्ला’, उनले भने, ‘गण्डकीमा पनि माओवादीले सरकार छाडेर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अर्को सरकार बनाउने प्रक्रिया सुरु हुन्छ ।’

gandaki province1679562471.png

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ । माओवादी केन्द्रको प्रदेशमा सभामुखसहित ८ जना सदस्य छन् । अधिकारी नेतृत्वको सरकारलाई माओवादीसहित एमालेका २२ र राप्रपाका दुई प्रदेश सभा सदस्यको समर्थन छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय हो ।  संघ र अन्य केही प्रदेश सरकारबाट बाहिरिएको राप्रपाले गण्डकीबाट भने अझै बाहिरिने निर्णय गरेको छैन । गण्डकी सरकारमा मुख्यमन्त्रीसहित एमालेका चार, माओवादी केन्द्रका दुई र राप्रपाका एक मन्त्री छन् । कांग्रेस संसदीय दलका नेता पाण्डेले आफूहरु माओवादी निर्णयको पखाईमा रहेको बताए ।

‘पहिले माओवादीले सरकार छोड्नुपर्‍यो, समर्थन फिर्ता लिनुपर्‍यो’, उनले भने, ‘त्यसपछि मुख्यमन्त्रीसँग दुई वटा विकल्प बाँकी रहन्छन्, कि राजीनामा दिने नत्र ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’  

    

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १४:१२
Weather Update