News Griha :: न्यूजगृह
ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेनन् : काठमाडौं महानगर

काठमाडौं— काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ ।

मंगलबार काठमाडौं महानगरको टोलीले महानगरभित्रका दुई अस्पतालमा गरेको निरीक्षणका क्रममा अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन अनुसार सेवा नदिएको पाइएको हो ।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स अस्पतालले स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार काम नभएको पाइएको र निरीक्षणपछि मापदण्डअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको बताए ।

निर्देशनात्मक पत्र भने महानगरबाट बुधबार पठाइने बताए । उनले अस्पतालले महानगरको निर्देशनपछि अब स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार लक्षित समुदायलाई १० प्रतिशत छुट दिने आशा रहेको बताए ।

उनले भने,‘हामीले काठमाडौं महानगरपालिकाको तर्फबाट ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स दुई अस्पतालमा अनुगमन गरको छौँ । अनुगमनको सिलसिलामा १० प्रतिशत लक्षित वर्गले पाउनुपर्ने निःशुल्क स्वास्थ्य उपचार र निःशुल्क शैय्या छुट्याएको हामीले पाएनौँ ।’

काठमाडौं महानगरका मेयर बालेन साहले यसअघि १० प्रतिशत लक्षित समुदायलाई स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार उपचार प्रदान गर्नका लागि कार्यान्वयनको माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

महानगरले निरीक्षणपछि पनि अस्पतालले अटेर गरी तोकिएबमोजिम सेवाप्रवाह नगरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १९:३५
Weather Update