News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हुम्लाका विद्यार्थीका लागि पोखरामा सांगीतिक कार्यक्रम

पोखरा— हुम्लाका विद्यार्थीलाई शैक्षिक सामग्री जुटाउन पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । एजुकेट नेपाल प्रोजेक्टले फ्लाइट फाउन्डेसनसँगको सहकार्यमा पोखरामा सांगीतिक कार्यक्रम गर्न लागेको हो । 

आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूले कापी कलमजस्ता शैक्षिक सामग्रीको अभावमा पढाइमा समस्या आएको देखेपछि यो कार्यक्रमको अवधारणा बनेको एजुकेट नेपाल प्रोजेक्टका प्रतिनिधि सोभित ठकुरीले बताए । ‘हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का १७ स्कुलका विद्यार्थीहरू शैक्षिक सामग्री अभावमा विद्यालय जानसमेत समस्या देखेपछि हामीले उनीहरूलाई सहयोग गर्न यो कार्यक्रम गर्न लागेका हौँ,’ उनले भने । 

Prabhu Bank

२६ जेठमा शुक्रबार पोखरा सभागृहमा विशेष सांगीतिक कार्यक्रम हुने आयोजकले बताएको छ । सांगीतिक कार्यक्रममा पोखराका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल, अदिती शर्मा र कमेडियन दिपक थापा लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ । 

एजुकेट नेपाल प्राजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर केही समययता दुर्गमका विद्यार्थीहरूका लागि यस्तै प्रकृतिको सहयोग जुटाउँदै आएको छ । संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ ।

संस्थाले केहीअघि पूर्वी रुकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने शैक्षिक सामाग्रीहरू वितरण गरेको थियो । शुक्रबार हुने सांगीतिक कार्यक्रममार्फत उठेको रकमबाट शैक्षिक सामग्री खरिद गरी टोली आउँदो असारको अन्तिम हप्ता हुम्ला जाने ठकुरीले जानकारी दिएका छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:२४
sagarmatha cementsagarmatha cement
Weather Update