काठमाडौं— ‘ओहो ! कस्तो गर्मी ? काठमाडौंमा पनि कस्तो झापाको जस्तो गर्मी भएको ?’ बानेश्वरमा अध्ययनका लागि बसेकी नेहा राउतले संघीय राजधानीमा केही दिनदेखि भइरहेको उखरमाउलो गर्मीलाई इङ्गित गर्दै भनिन् ।
गर्मी बढेकाले राजधानीमा अहिले बिहान नौ बजेकै घाममा हिँड्दा पनि पसिना आउन थालेको छ, दिउँसोको त कुरै नगरौँ । नेहा मात्र होइन, काठमाडौंमा एकाएक बढेको गर्मीले मानिसहरू दिक्क मान्न थालेका छन् । काठमाडौंमै केही दिनदेखि अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसको आसपास रहने गरेको छ । यस्तै, अत्यधिक गर्मी हुने भूभागहरू सिमरामा ४१ डिग्री, जनकपुरमा ४०.६ डिग्री, भैरहवामा ४० डिग्री र नेपालगञ्जमा ४० डिग्री र विराटनगरमा ३९ डिग्री सेल्सियसको आसपासमा रहने गरेको छ । अत्यधिक गर्मी बढेका तराईका केही स्थानमा विद्यालयहरू एक साताको लागि बन्द गरिएको छ भने दिनमा मानिसहरू घरबाट बाहिर निस्किन छाडेका छन् । विशेषगरी तराईतिर लू अर्थात् तातो हावा बहन थालेपछि मानिसहरू बेहोस हुने, ढल्ने र ज्यानै जानसक्ने हुँदा गर्मीमा घरबाट बाहिर निस्कन छोडेका छन् ।
आखिर गर्मी किन बढिरहेको छ ?
पृथ्वीको तापक्रम बढेकाले काठमाडौं उपत्यकालगायत मुलुकभर केही दिनदेखि गर्मी बढेको विज्ञहरू बताउँछन् । जल तथा मौसम विज्ञानकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल भौगोलिक अवस्थिति र गर्मीकै महिना भएकाले पनि गर्मी बढेको बताउँछिन् । उनी भन्छिन्, ‘मे, जुन जुलाई गर्मीकै महिना हो । गर्मी किन बढ्यो भन्ने कुरालाई भौगोलिक स्थितिसँग दाँजेर हेर्नुपर्छ ।’ यस्तै, प्रि–मनसुन भनिएपनि वर्षा नहुनु, आकाशमा बादल नदेखिनुले पनि गर्मी बढिरहेको उनको भनाइ छ ।
राष्ट्रिय जल तथा मौसम विभागले यस वर्ष सरदरभन्दा कम पानी पर्ने र मनसुन पनि नेपालमा ढिलो प्रवेश हुने बताएको छ । जसको असर अहिले बढिरहेको गर्मी हो । जलवायु परिवर्तनले पृथ्वीको तापक्रम वृद्धिदर १.१ डिग्री सेल्सियस पुगेको छ, समग्रमा त्यही बढेको तापक्रमको असरले गर्मी बढेको जलवायु परिवर्तन विज्ञ विमलराज रेग्मी बताउँछन् । रेग्मी भन्छन्, ‘पृथ्वीको तापक्रम बढेसँगै जलवायु चक्र नै बिग्रिएको छ । त्यसैले अत्यधिक गर्मी, अत्यधिक वर्षा वा अत्यधिक जाडो हुनेछ र भइरहेको छ ।’
पोखरमा ३२ डिग्री कै आसपासमा अत्यधिक तापक्रम देखिन्छ । ‘तर, त्यहाँ स्थानीय मौसमको प्रभावले तालतलैया भएकोले पानी परेर केही शीतल हुन्छ । तर, काठमाडौंमा ताल नभएकाले पानी पर्ने अवस्था छैन । यहाँ मनसुन नआइ पानी पर्दैन र पानी नपरी शीतलता छाउँदैन,’ रेग्मीले भने ।
गर्मी नेपालमा मात्र होइन, विश्वमै बढेको छ । साधारणतयाः चिसो महादेश ठानिने युरोपमा सन् २०२२ मा तातो हावाको लहर चल्दा सयौँ मानिसले ज्यान गुमाउनु परेको थियो । नासा ग्लोबले सार्वजनिक गरेको एक तस्बिरमा विश्वमा नै तापक्रम बढेको देखाएको थियो । बेलायत, फ्रान्स, इटली, हंगेरी र पोर्चुगलमा तापक्रम बढेर रेकर्ड ब्रेक भएका थिए भने हजारौँ हेक्टरमा अत्यधिक तापक्रम बढेपछि वनमा डढेलो लागेको थियो ।
अकल्पनीय विपद्
नेपालमा यस वर्ष बढेको गर्मीको संकेतले मौसमको अस्वभाविक अवस्थालाई संकेत गर्छ । जलवायु विज्ञ रेग्मी भन्छन्, ‘यो अवस्था अझ बढ्नेछ । विश्वको तापक्रम अझ बढ्नेछ र हामीले अझै धेरै गर्मी, खडेरी, अतिवृष्टि र अनावृष्टिको सामना गर्नुपर्नेछ ।’
उनकाअनुसार विगतमा योभन्दा धेरै नबढ्ने अत्यधिक तापक्रमको सीमा बढ्दै गएको छ ।
यसले नसोचिएका र सरकारले रोक्न तयारी समेत नगरेका मानवीय संकटहरू आउने सम्भावना बढेको छ । उनले भने, ‘अत्यधिक तापक्रम र न्यूनतम तापक्रमको थ्रेसहोल्ड परिवर्तन हुँदै गएको छ । चिसो मुलुक फ्रान्समा अति गर्मीको कारण मानिसको ज्यान गयो, जुन सरकारले सोचेको पनि थिएन ।’
‘नेपालमा पनि त्यही हुँदैछ, अब काठमाडौंमा लू जस्तो तातो हावा बह्यो भने त्यसबाट बच्न के छ त हाम्रो तयारी ? लूको सामना गरिएको स्थानका मानिसले त त्योबाट बच्न घरेलु उपाय अपनाउलान्, कहिले त्यसको सामना नै नगरेको भूभागमा बस्नेको के होला ?,’ उनले थपे ।
यस्तै, अनपेक्षित घटनाले ल्याउने हानीनोक्सानी झनै विकराल हुने उनी बताउँछन् । दुई वर्षअघि मेलम्चीमा क्लाउड ब्रस्र्टबाट परेको पानीले ल्याएको बाढीले थुप्रै मानिसको ज्यान लिएको थियो भने करोडौँको क्षति भयो । सो क्षति राज्यले अहिलेसम्म पूरा गर्न सकेको छैन ।
अत्यधिक गर्मीले मानिसलाई मात्र होइन, प्रकृतिमा पनि निकै असर पार्नेछ । मौसम सुख्खा हुँदा सिँचाइको अभावले कृषि प्रणालीमा असर गर्नेछ । जसको असर कृषि उत्पादनमा हुनेछ र उत्पादन घटेपछि आयातमा भर पर्नुपर्दा महँगी बढ्नेछ ।
यसैगरी, यही अत्यधिक गर्मीले वन डढेलो र हिमपहिरोको सम्भावना पनि उत्तिकै बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार १ वैशाख २०८० देखि २२ जेठसम्म हिमपहिरोको चार घटना भएका छन् । जसमा नौ जनाको मृत्यु भयो, तीन बेपत्ता र दुई जना घाइते भए । सोही समयमा वन डढेलोको ११५ घटना भएका छन् । जसमा ६० प्रतिशत मानवीय त्रुटि रहेको र बाँकी अन्य कारणतर्फ विज्ञहरूले औँल्याउने गरेका छन् । यस्ता घटनामा पाँच जनाको ज्यान गएपनि कयौँ संकटासन्न जनावर तथा पन्छीको मृत्यु भएको तथ्यांक सरकारसँग छैन ।
हालसम्म सरकारले वन आगलागीमा मर्ने पशुपन्छीको संख्या तथ्यांकीय रूपमा राख्ने गरेको छैन । गर्मी बढेपछि जंगलमा आगलागी हुने नेपालमा मात्र होइन । गतवर्ष अत्यधिक तापक्रम बढेपछि अष्ट्रेलियाका जंगलहरूमा आफैँ आगलागी हुँदा लाखौँ जनावर तथा पन्छीहरू मरेका थिए ।
रेग्मी भन्छन्, ‘यो खलबलिएको जलवायु चक्रले निम्त्याएको परिणाम हो । मेलम्चीमा अचानक जसरी बाढी आयो त्यस्तै मनाङ, मुस्ताङमा बाढी, हिमपहिरो आउने सम्भावना बढी छ । आगलागीका घटना पनि यसरी नै बढ्दै जानेछ ।’
'लू'को तथ्यांक छैन
तर, अहिले तत्काल देखिएको र विगतदेखि नै तराईलाई सताउँदै आएको लूको बारेमा भने सरकारले आधिकारिक अभिलेख राख्ने गरेको छैन । प्राधिकरणको विपद् पोर्टलमा पनि लू शीर्षक छैन । लूको असरबाट ठ्याक्कै कति मानिसले बर्सेनि ज्यान गुमाउने गरेको छन् भन्ने तथ्यांक प्रहरीसँग पनि छैन । मधेस प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध अनुसन्धान शाखा जनकपुरका डीएसपी ज्ञानकुमार महतोले गर्मी बढेपनि गर्मीकै कारण मृत्यु भएको भन्ने यथेष्ट जानकारी नभएको न्यूजगृहलाई स्पष्ट पारे । उनी भन्छन्, ‘गर्मी यहाँ विगत छ दिनदेखि अत्यधिक बढेको छ । तर, गर्मीकै कारण मृत्यु भएको भन्ने थाहा छैन ।’
प्राधिकरणका उपसचिव राजेन्द्र शर्मासँग लूको बारेमा स्पष्ट व्याख्या नभएको तर्क राख्छन् । शर्मा भन्छन्, ‘लू के हो भनेर स्पष्ट व्याख्या छैन । यसको तथ्यांक त राख्नुपर्ने हामीले नै हो । अहिलेसम्म लू लागेरै मान्छे मरेको भन्ने यकिन गर्न सकिन्न । त्यसैले अन्य शीर्षकमा विपद् पोर्टलमा घटना दर्ता गरेपनि लूको गरेका छैनौँ ।’ तर, प्राधिकरणले लूको तथ्यांक नराखे पनि र लूको स्पष्ट परिभाषा नभएको बताए पनि लूबाट बच्नको लागि उपायहरूबारे जनचेतानामूलक सामग्री दिँदै आएको छ ।