
काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि संगठन (सीटीबीटीयो) कार्यकारी सचिब रोर्बट फ्लोएडबीच सिंहदरबारस्थित संसद् सचिवालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
अध्यक्ष तिमिल्सिनाले नेपाल आम विनाशक हतियार उत्पादनको विपक्षमा रहेको बताए । नेपाल सबै किसिमका आम विनाशक हतियार निशस्त्रीकरणको पक्षधर भएको बताउँदै उनले त्यस्ता हतियार उत्पादन रोकिनु पर्ने धारणा राखे ।
उनले भने, ‘नेपाल सबै प्रकारका आम बिनाशक हतियारको विपक्षमा छ । नेपालको परराष्ट्र नीति यही हो । त्यसो हुँदा नेपाल हात–हतियार दौडबाट अलग छ । नेपालले सधैँ सामूहिक विनाश हतियारको विरुद्धमा वकालत गरिरहनेछ । यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरूप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’
अध्यक्ष तिमिल्सिनाले नेपाल शान्ति र अहिंसाका प्रवद्धक, मात्र नभइ गौतम बुद्धको समेत देश भएका हुँदा सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको भेटका क्रममा बताए । सिटिबिटीयोका कार्यकारी सचिव फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपुर्वी एसियाका धेरै देशहरूले सन्धि अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने विश्वास व्यक्त गरे ।