
काठमाडौं— काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगरभित्रका विद्यालयहरूको सूची सार्वजनिक गरेको छ ।
महानगरले मंगलबार छात्रवृति दिन अटेर गर्ने तीन सय ४२ निजी विद्यालयको नामावली सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई नियमअनुसार उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्ति विवरणको विवरण पठाउन महानगरपालिकाले विद्यालयहरूलाई गत १९ जेठमै निर्देशन दिएको थियो । यसका लागि महानगरपालिकाले सूचना नै सार्वजनिक गरेको थियो ।
सूचनाअनुसार विद्यालयले १५ जेठभित्रै छात्रवृत्ति वितरणको विवरण महानगरपालिकामा पेस गर्नुपर्ने थियो । तर, तीन सय ४२ विद्यालयले निर्देशन कार्यान्वयन नगरेको महानगरपालिकाको भनाइ छ । उनीहरूलाई अबको छ दिनभित्र विवरण पेस गर्न महानगरपालिकाले पुनः निर्देशन दिएको छ । मंगलबार प्रकाशित सूची यही प्रयोजनका लागि हो ।
निर्देशनअनुसार अटेर गर्ने विद्यालयले छात्रवृति वितरणको विवरण आगमी २८ जेठभित्र अनिवार्य रूपमा महानगरपालिकामा पेस गर्नुपर्नेछ । विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने महानगरपालिकाले जानकारी दिएको छ ।