News Griha :: न्यूजगृह
देशभर गर्मी बढ्यो

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार काठमाडौंको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहने जनाएको छ ।

तराईमा गर्मी बढेको छ । तराईमा भन्दा पहाडमा गर्मी कमी छ । तर विगतका वर्षमा भन्दा यस वर्ष पहाडमा समेत गर्मी ज्यादा रहेको छ । ठाउँठाउँमा राखिएका तापक्रम मापन स्थलहरूमा समेत यस वर्ष उच्च तापक्रम नै देखाउने गरेको छ ।

विगतमा यस सिजनमा केही क्षण, एक वा दुई दिनमात्र तापक्रम बढ्ने गरेको भए पनि यस वर्ष एकसाता यता पानी नपरेका कारण पनि गर्मी बढेको महाशाखाले जनाएको छ ।

तराईका केही जिल्लामा गर्मी बढेकै कारण बर्खे बिदामा कटौती हुने गरी विद्यालयमा बिदासमेत दिइएको छ । तर पहाडमा समेत अध्ययनमा समस्या भएको विद्यार्थीहरूको भनाइ छ ।

विद्यालयमा लगाइएको जस्ताको छानाबाट अझ तापक्रम थपिएर आउने हुँदा पढ्नभन्दा शीतलताको खोजीमा नै विद्यालय समय बित्ने गरेको उनीहरू बताउँछन् ।

प्रकृतिमा आएको परिवर्तनले यस वर्ष किसानले लगाएको कृषिबालीमा सुक्खाकै कारण उत्पादन घट्ने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०७:४६
Weather Update