News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई संसदीय मूल्यमान्यताभित्रै रहेर प्रश्न गरेका छौँ : एमाले सचेतक बर्तौला

काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद बर्तौताले प्रधानमन्त्रीलाई आफूहरूले संसदीय अधिकारभित्र रहेर नै प्रश्न गरेको बताएका हुन् ।

उनले नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्रीले अदालतले गरेको फैसलाभन्दा बाहिर गएर अभिव्यक्ति दिएपछि आफूहरूले संविधानसम्मत् गर्न आग्रह गरेको बताए ।

उनले भने,‘संविधान निर्माण गर्ने, संविधान संशोधन गर्ने, कानुन निर्माण गर्ने थलोका सदस्यहरूले बोल्न पाउने संसदीय अधिकार हो । संसदीय मूल्यमान्यता भित्रको कुरा हो । प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा प्रश्न गर्ने प्रतिपक्ष दलको नेतालाई अधिकार रहन्छ । यसलाई गैरसंसदीय, संसदको मूल्य, मान्यताभन्दा बाहिरको कुरा भन्न खोजिएको हो भने यो संसद् कतातर्फ लैजान खोज्दै हुनुहुन्छ उहाँहरूले ?’

बर्तौलाले संसदीय प्रक्रियामा प्रतिपक्षलाई बढी सहभागि हुन दिनुपर्नेमा सत्तापक्षले प्रतिपक्ष सांसद बोलेकोमा रोष प्रकट गर्ने गरेको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २१:४२
Weather Update