News Griha :: न्यूजगृह
सभामुखले संसदीय प्रक्रिया बाहिर गएर संसद् चलाउनुभयो : देवेन्द्र पौडेल

काठमाडौं— नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद पौडेलले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्यमान्यता बाहिर भएको बताए ।

सांसद पौडेलले भने,‘प्रचलित र स्थापित मान्यता अनुसार प्रधानमन्त्रीले जवाफ दिइसकेपछि पूर्वप्रधानमन्त्रीलाई तत्कालै त्यसको खण्डन गर्नको निम्ति सभामुखले समय दिनु संसदीय प्रणाली, प्रक्रिया विपरितको कुरा हो । उहाँले संसदीय प्रणाली, प्रक्रिया र हाम्रो स्थापित मूल्यमान्यताभन्दा फरक ढंगले आज जुन अभ्यास गराउनुभयो त्यो शोभनीय थिएन ।’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारत भ्रमणको उपलब्धिको रूपमा मुर्रा राँगो मात्रै ल्याएको टिप्पणी गर्नु कुटनीतिक मर्यादा विपरित भएको पाैडेलले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २१:१७
Weather Update