News Griha :: न्यूजगृह
सफा हिमाल अभियानबाट ३५ हजार बढी फोहोर संकलन : नेपाली सेना

काठमाडौं— नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत यस वर्ष ३५ हजार सात सय किलो फोहोर संकलन भएको जनाएको छ ।

सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले ५५ दिनसम्म चलेको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार सात सय किलो फोहोर संकलन भएको जनाएको हो ।

सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म एक सय नौ टन फोहोर संकलन भइसकेको समेत सेनाले जनाएको छ ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति र पर्यावरण जोगाउने कार्यलाई बढावा दिनका लागि सफा हिमाल अभियानलाई निरन्तरता दिइएको बताए । उनले विकट र प्रतिकूल अवस्थामा पनि फोहोर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेको उल्लेख गरे ।

कार्यक्रममा हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरिएको थियो । यस वर्षको सफाइ अभियानका क्रममा  फूर्वा शेर्पा र आङ्कामी शेर्पाको हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:१२
Weather Update