
काठमाडौं— भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गरेका छन् ।
विवादित नागरिकता विधेयकलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको र १७ देखि २० जेठसम्म भएको चारदिने भारत भ्रमणलाई लिएर प्रतिपक्षी दलहरूले प्रचण्डलाई घेराबन्दी गरेका हुन् । आइतबार प्रधानमन्त्री प्रचण्डले संसद्मा यी विषयमा जवाफ दिनुपर्ने भन्दै प्रतिपक्षी दलले विरोध गरेपछि संसद् बैठक आइतबार स्थगित भएको थियो ।
सोमबार प्रधानमन्त्री प्रचण्डले संसद्मा स्पष्टीकरण दिने भएसँगै संसद् चल्ने सहमति जुटेको थियो । जसअनुसार विवादीत विषयमा सोमबारको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ पनि दिए । तर, प्रचण्डले जवाफ दिए पनि पुनः नेकपा एमाले, रास्वापा र राप्रपा लगायत दल उनीमाथि खनिए ।
नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारतमा गएर नदी बेचेर आएको आरोप लगाए । उनले भारत भ्रमणबाट कुनै पनि उपलब्धि नभएको भन्दै उल्टै देशलाई बदनाम गर्ने काम भएको दाबी गरे।
त्यस्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकमा कन्टेन्टको कुरा गरेर आफूलाई पन्छाउन खोजिएको बताए।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को अधिकार छलेर मन्त्रिपरिषद्बाट सिधै राष्ट्रपतिलाई विधेयक पास गराउन लगाउनु गैरसंवैधानिक भएको बताए। ‘यदि यो विधेयक संसद्मा आएको भए हामी महिलामाथिको विभेदबारेमा बोल्थ्यौँ। यो दोषको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ’, उनले भने, ‘हाम्रो अधिकार हनन भएको छ। संसद्मा ल्याएर यसको प्रक्रिया पूरा गर्नुपर्छ।’
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतले नेपालका केही भूभागसहित भारतीय संसद्मा राखेको नक्साबारे ढाकछोप गर्न लागेको पनि बताए । ‘भारतीय संसद्मा राखिएको नक्साको विषयमा के हो?’, उनले प्रश्न गरे, ‘बंगलादेश जाने बाटो भनेको के हो? समुद्रको अधिकार के हो? कालापानी सट्टापट्टाको कुरा हो कि होइन ।’