
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भारत भ्रमणमा प्रधानमन्त्रीलाई कार्यालय सहयोगीको बराबर सम्मानले मुलुकको शिर निहुरिएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको सम्मानमा देशको सम्मानसँग जोडिएको हुनाले भारतमा गरेका गतिविधिहरूले नेपालको शिर निहुरिएको भन्दै त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरे ।
उनले भने, 'प्रधानमन्त्री व्यक्ति हो कि यो राष्ट्रको कार्यकारी प्रमुख हो, प्रधानमन्त्रीको सम्मानमा यो देशको सम्मान जोडिएको छ । यदि व्यक्तिगत रुपमा भ्रमणमा जानु भएको हो भने हाम्रो आपत्ति छैन् । तर देशको एउटा प्रधानमन्त्रीलाई कुनै देशको कार्यालय सहयोगीको बराबर तपाईंको सम्मानले आज मुलुकको शिर निहुरो परेको छ । यसको जवाफ प्रधानमन्त्रीले संसद्मा दिनुपर्छ । किनभने यो मुलुकको कुरा हो ।’
उनले भारत भ्रमणभन्दा अगाडि विधेयक प्रमाणीकरण गर्न के आपत्ति आयो भनेर प्रश्न गर्दै नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रधानमन्त्रीलाई राष्ट्रपति न्यायाधीश जस्तो लाग्यो कि के हो भन्दै जवाफ मागेका छन् ।