
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो भारतको चारदिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भेटवार्तामा सीमासम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु ।’
‘यहाँहरूलाई थाहा नै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नुभएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो,’ उनले थपे ।
प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताएको पनि संसद्लाई जानकारी गराए ।