काठमाडौं— नेकपा एमालेले नागरिकता विधेयकको सम्बन्धमा राष्ट्रपतिलाई संविधान मिच्न सरकारले उक्साएको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न सरकारले उक्साएको आरोप आरोप लगाएका हुन् ।
‘राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने ? संविधान मिच्न दुरुत्साहन गर्ने ?,’ उनले भने, ‘यो संसद्को नियमावली छ । संसद्को विशेष अधिकार हनन् भयो भने विशेष अधिकार हनन् समिति बनाएर संसद्को विशेष अधिकार हनन् हुनेमाथि कारबाही हुन सक्छ । यो हामीले बनाएको नियमावली हो ।’
उनले राष्ट्रपति कार्यालयले पठाएको पत्रमा धारा ६१ र ६६ मा विधेयक प्रमाणीकरण गर्ने कहाँ छ भनी सभामुखसमक्ष प्रश्न राखे । विधेयकको सन्दर्भमा संविधानको धारा ११०, १११, ११३ र ११४ मा अध्यादेश र धारा ११०, १११, ११३ मा प्रमाणीकरण सम्बन्धी व्यवस्था रहेको भट्टराईको भनाइ छ ।
‘संसद्लाई, नेपाली जनतालाई दिउँसै ढाट्ने । ढाट्नका निम्ति प्रधानमन्त्री कार्यालयले, प्रधानमन्त्रीले र सरकारले राष्ट्रपतिलाई उक्साउने ?,’ उनले भने, ‘अनि राष्ट्रपति महोदयले त्यही अनुसार काम गर्ने ? राष्ट्रपति संसद्भन्दा माथि हुँदैन । राष्ट्रपति संसद्को अंग हो । संसद्बाट सभामुखले प्रमाणीकरण गरेर पठाएको विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपतिलाई छ ।’