
काठमाडौं— सामुदायिक विद्यालयका कर्मचारीले आफ्ना समस्या र मागलाई आगामी आर्थिक वर्षको बजेटमा नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
सामुदायिक विद्यालयमा न्यून बेतनमा कार्यरत कर्मचारीको पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वको विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिए पनि बजेटमा नसमेटिएको भन्दै विद्यालय कर्मचारी आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले विद्यालयको साँचो बुझाउँदै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई अगाडि धर्ना सुरु गरेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले बजेट परिमार्जन गरी जतिसक्दो चाँडै आफ्ना सेवा सुविधासम्बन्धी समस्या समावेश गर्न माग गरेकाे छ ।
आफूहरूका सेवा सुविधासम्बन्धी विषय बजेटमा समावेश नगरिए थप संघर्षका कार्यक्रम अगाडि बढाउने परिषद्को भनाइ छ ।
यस्तै २६ जेठसम्म जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने, २७ जेठदेखि १ असारसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनशन बस्ने र २ असारदेखि माग सम्बोधन नहुन्जेल सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने कर्मचारीहरूको तयारी छ ।