News Griha :: न्यूजगृह
रुपन्देहीको शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत

रुपन्देही— रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पुर्‍याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाइ भएका विद्यार्थीहरूलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरूले साथी शिक्षकका रूपमा सिकाइमा सहयोग गरेर कक्षा उत्तीर्ण गराउन  सफल भएका थिए ।

शैक्षिक सत्र २०७९ मा साथी शिक्षकको रूपमा योगदान दिने करिब एक सय ५० विद्यार्थीलाई प्रोत्साहनस्वरूप शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो ।

निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले साथी शिक्षक मार्फत सिकाइमा सहजीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहज बनाएको बताए ।

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गरेका थिए भने विद्यार्थीहरूले आफ्नो विभिन्न कलासमेत प्रदर्शन गरेका थिए ।

शान्ति नमूनामा २०७६ सालदेखि निरन्तररूपमा साथी शिक्षक सहायता कार्यक्रम चलिरहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०६:१३
Weather Update