News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : पहिलो दिन दुई सरकारी वकिलले गरे बहस

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार दुई जना सरकारी वकिलले बहस गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरु भएको बहसको पहिलो दिन सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री र जनकप्रसाद घिमिरेले बहस गरेका हुन् ।

यस प्रकरणमा बहस गर्न छुट्याइएको तीन दिनको पहिलो दिन उनीहरूले आफूहरूले अदालतमा पेश गरेका प्रमाण, तथ्य नै अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउन पर्याप्त आधार भएको जिकिर गरेका छन् ।

सोमबार र मंगलबार पनि सरकारी वकिलले नै बहस गर्नेछन् भने त्यसपछि अर्को मंगलबारसम्म भने प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन् ।

पहिलो दिनको बहसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई उपस्थित गराइएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २१:२४
Weather Update